Home / स्थानीय समाचार / POLITICS / एमाले-माओवादी एकता समयको आवश्यकता

एमाले-माओवादी एकता समयको आवश्यकता

sunil                                                                                             सुनिल मानन्धर

यतिबेला नेपालमा कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुगेको छ। दुई ठूला पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीचको एकीकरण प्रयासले मूर्त रुप लिन लाग्दा नेपाली जनता एवं आम कम्युनिस्ट शुभेच्छुकहरु उत्साहित हुनु स्वभाविक नै हो।

अझै कम्युनिस्ट एकता बारे वैचारिक चिन्तन–मनन हुनु, छलफल हुनु आफैमा सकारात्मक कदम हो। प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनले सहजतापूर्वक प्रस्ट बहुमत प्राप्त गर्नुले पनि कम्युनिस्ट घटकहरुबीचको एकता दुई पार्टी र जनताको मात्र नभएर समयको आवश्यकता हो भन्ने कुरालाई पुष्टि भएको छ।

कम्युनिस्ट शक्तिहरुबीचको एकता राजनीतिक वृतमा चर्चाको विषय भए पनि दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता निश्चय नै कठीन कार्य हो। श्रमिक वर्गहरुको निरन्तर र एकनाशको संघर्ष जारी रहनु, धनी र गरीबबीचको खाडल दिनानुदिन बढ्दै जानु र नयाँ आर्थिक नीतिहरुले पनि श्रमिक एवं शोषित जनताहरुको जीवनस्तर उकास्न र उनीहरुलाई सम्बोधन गर्न नसकेको अवस्थामा वाम आन्दोलनको नयाँ धुव्रीकरणले भ्रष्टाचार, सामाजिक कुरीति हटाउनुका साथै नेपालको आर्थिक विकास र समृद्धिको यात्रामा टेवा पुग्ने देखिन्छ। एमाले र माओवादी केन्द्र जस्तो शक्तिले पार्टी एकीकरण गर्ने प्रतिवद्धतासहित चुनावी घोषणापत्र जारी गर्नुले नै आम जनतामा तरङ्ग पैदा गरेको छ भने यो घोषणा पत्रले एकीकरणका लागि एउटा आधार समेत तयार गरेको छ। एकीकृत कम्युनिस्ट पार्टी निर्माणको अभियान सुरु भैसके पनि त्यो ठोस निष्कर्षमा नपुगे पनि दुई पार्टीका अध्यक्षहरुले वारम्वार गरेका प्रतिवद्धताका कारण एकता ठोस निष्कर्षमा पुग्ने विश्वास गर्न सकिन्छ ।

विभिन्न तह–तप्काबाट असल नियतका साथ वाम एकताप्रति व्यक्त गरिएका शुभेच्छा र भावनात्मक एकताका लागि दिएका शुभकामनाले एकीकरण निसन्देश अहिलेको आवश्यकता भएको पुष्टि हुन्छ। वैचारिक–राजनीतिक, व्यवहारिक र संगठनात्मक एकीकरणको आधार एवं इतिहासबाट सिकिएका अनुभवहरु नै वामपन्थी उकताका प्रमुख आधार हुन्। वैचारिक र सैद्धान्तिक एकताका लागि बीचको बाटो रोज्नु उपयुक्त हुन्छ। एकातिर माओवाद र २१ औं शताब्दीको जनवाद मान्ने पार्टी माओवादी छ भने अर्कोतिर जनताको बहुदलीय जनवाद मान्ने एमाले छ। यी दुवैलाई मध्यनजर राख्दै मुलुकले आफनो विशेषतासहितको नयाँ मार्गदर्शक सिद्धान्त तय गर्नुपर्ने हुन्छ। माक्र्सवादी सिद्धान्तको विशेषता एवं सौन्दर्य भनेकै यो समय, परिस्थिति एवं आवश्यकता अनुसार परिवर्तनशील हुन्छ। त्यसैले सैद्धान्तिक विषयमा छलफल खुला गर्ने ठाउँ राख्दै तत्कालीन कार्यनीतिक लाइन तय गर्नु पर्ने हुन्छ।

वाम शक्तिहरुबीचको एकीकरणमा सबैभन्दा कठीन काम संगठनात्मक एकीकरण हो। एकताका लागि यो सबैभन्दा प्रमुख र जटिल कार्य हो। एकातिर राज्य सञ्चालन गरी जनतालाई सुशासन दिनु परेको छ भने अर्कातिर केन्द्रदेदिख वडासम्मका संगठनलाई मिलाएर एकता गर्नुपर्ने हुन्छ। नेतृत्वभन्दा नीतिको एकीकरणको प्रथम शर्त भएपनि पार्टीका नेतृत्वलाई क्षमता र योग्यता अनुसार जिम्मेवारी दिनु पर्ने हुन्छ। एकता औपचारिक मात्र नभएर भावनात्मक रुपमा हुनु पनि जरुरी छ। एकतापश्चात् पार्टी पंक्तिमा एवं आम जनतामा नयाँ जोस, जाँगर र उत्साह सृजना भयो भने मात्रै त्यो एकतालाई सार्थक भएको मान्न सकिन्छ। एकतापछि बन्ने पार्टी नयाँ युगका लागि नयाँ कम्युनिस्ट पार्टी बन्न सक्नु पर्दछ भने संगठनको प्रमुख भूमिका युवा पुस्तालाई दिनु पर्दछ

एमाले माओवादी गठबन्धनको एकता निर्वाचनबाट प्राप्त जनादेश पनि हो। अब कुनै पनि काल्पनिक तगारा एकताका लागि बाधक हुनुहुँदैन। हुनतः विभिन्न कालखण्डमा नेपालका कम्युनिस्ट शक्ति फुट्दै एवं जुट्दै आएको यथार्थ कसैबीच छिपेको छैन। विभिन्न वाह्य एवं आन्तरिक कारणहरुले गर्दा एवं व्यक्तिगत स्वार्थका कारण विगतमा निर्णयक मोडमा कम्युनिस्ट शक्ति एक हुन सकेनन्। त्यसको फाइदा प्रतिक्रियावादीहरुले उठाउँदै आइरहे। अहिले पनि केही आन्तरिक र वाह्य शक्ति यी दुई पार्टीबीच एकता हुन नदिन विभिन्न चाल र जाल बुन्दैछन्। यस प्रकारको षड्यन्त्रप्रति दुबै पार्टीका नेताहरु सचेत हुन जरुरी छ।

दुई शक्तिबीचको व्यवस्थित एकता प्रयास हाम्रो मुलुकको लागि नयाँ अभ्यास पनि हो। हामी फुट्न जानेका छौ तर जुट्नु पर्दा नाना प्रकारका शंका उपशंका गर्दछौं। अहिले नेपाली कम्युनिस्ट आन्दोलनका अगाडि दोहोरो दायित्व एकै साथ आइपरेको छ। पहिलो निर्वाचनबाट स्पष्ट जनादेशसहित अपेक्षालाई जनतामा नै डेलिभरी दिनु परेको छ भने अर्कोतिर यस ऐतिहासिक दायित्व पूरा गर्न सक्ने खालको सशक्त एकीकृत पार्टी निर्माण गर्नुपर्ने छ।

नेपाली कम्युनिस्टहरुको सामुन्ने ऐतिहासिक दायित्वको साथै ऐतिहासिक अवसर पनि आएको छ। एमाले र माओवादी केन्द्रबीच केही समयभित्र एकीकरण सम्पन्न गरी राष्ट्रको अगाडि आइपुगेको अभिभारा पूरा गर्ने कार्यमा अब चुक्नु हुँदैन। निर्वाचनको दौरानमा कम्युनिष्ट कार्यकर्ता र समर्थकबीच देखापरेको अभूतपूर्व एकता र एकभइ काम गर्ने जुन उत्साह देखिएको थियो त्यही स्प्रिटका आधारमा दुई पार्टीको एकतालाई छिटोभन्दा छिटो टुंग्याउनुपर्छ।

नेपालको भूराजनीतिक धरातलअनुसार अवस्था देशको विास र समृद्धिलाई अगाडि बढाउनका लागि पनि वाम एकतालाई बलियो बनाउनु आवश्यक छ । सर्वहारा जनताको मुक्तिको लागि वाम एकता आजको आवश्यकता हो, समयको माग हो। एमाले र माओवादीको तत्कालीन कार्यभार भनेको मजदुर वर्गलाई काम अनुसारको ज्याला दिनु, सम्पत्तिमाथि सबैको समान अधिकार कायम गर्नु, देशको विकास र आर्थिक समृद्धि गर्नु र पुँजीवादी अर्थव्यवस्थाबाट समाजवादी अर्थव्यवस्थामा मुलुकलाई लैजानुजस्ता समानता रहेको हुँदा पनि अब एकीकरणको लागि ढिलो गर्नुहुँदैन।

 

Check Also

symposium

Symposium On Children and Development held in Kathmandu

11 April,2017;On the Day of Chaitra Full Moon Day,South Asia Partnership -Nepal and Pragya Foundation ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *