Breaking News
Home / स्थानीय समाचार / POLITICS / राजनीतिमा युवाको हस्तक्षेप
30440804_10204190392356360_7621466930435588096_o

राजनीतिमा युवाको हस्तक्षेप

Milan Pandey
Milan Pandey

काठमाडौं

 

 

 

सन् २०२० सम्ममा आधा चिनियाँको उमेर ३७ वर्षभन्दा कम हुनेछ, आधा भारतीयको उमेर २९ वर्षभन्दा कम हुनेछ भने आधा नेपाली २२ वर्षभन्दा कम उमेरका हुनेछन् । नेपालमा ४५ वर्षमुनिका ८१ प्रतिशत मानिस छन् ।

youth

 

यो तथ्यांकले जति ऊर्जा भर्छ, अर्को तथ्यांकले त्यति नै निराश बनाउँछ। गत संविधानसभामा ४० वर्षभन्दा मुनिका सभासद जम्मा १४ प्रतिशत मात्र थिए। यसमा समानुपातिकको तथ्यांक हटाउने हो भने प्रत्यक्षतर्फ २.५ प्रतिशत युवा सभासद मात्रै चुनिए। केही महिनाअघि मात्रै भएको स्थानीय निर्वाचनको पहिलो चरणमा स्थानीय तहका प्रमुखमा ६० वर्ष कटेका ७१ प्रतिशत उम्मेदवार निर्वाचित भए भने ४० वर्षमुनिका जम्मा १८ प्रतिशत मात्रै। नेपाल युवाले भरिएको तर नेतृत्वमा युवा नरहेको देश बनेको छ।
राजनीतिमा संलग्न युवाका समस्या
लहैलहैमा लागेर राजनीतिमा जाने युवाको संख्या उल्लेख्य भए पनि बुझेरै संलग्न हुनेको संख्या भने निकै कम छ। राजनीतिमै भएर पनि राजनीतिमा हस्तक्षेप गर्न सक्ने युवा त बिरलै भेटिन्छन्। राजनीतिमा युवा नेतृत्व विकसित र स्थापित हुन नसक्नुका मुख्यतया ३ कारण छन्–

 

१) स्रोत साधनमा पहुँचको समस्या
राजनीतिमा लाग्ने युवा कि त विद्यार्थी वा भर्खरै पेसा व्यवसाय गर्न सुरु गरेका हुन्छन् जसको पहुँचमा हुने स्रोतसाधन सीमित छन्। युवा आफ्नो व्यक्तिगत खर्च, राजनीतिक अभियानमा हुने खर्च र कति अवस्थामा त परिवारको आर्थिक भार पनि वहन गर्नुपर्ने अवस्थामा हुन्छन्। आम्दानी कम र दायित्व बढी हँुदा कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको छ। धेरै युवाले सुरुमा राजनीतिमा हामफाले पनि पछि आर्थिक अवस्थाकै कारण छाड्छन्। नेपाली राजनीतिमा कहिल्यै समाधान नभएको एउटा प्रश्न हो, ‘नेताको जीविका कसरी चलाउने?’ युवाका हकमा त यो प्रश्न झन् पेचिलो बनेर आउँछ। नेतृत्वका लागि सहयोगी संरचना नबनाउने हो भने युवाका निम्ति यस्तो अवस्थामा पारदर्शी तथा जनमुखी राजनीति गर्न निकै कठिन हुन्छ।

youth resources

एउटा संवाद सम्झन्छु, एकजनाले भन्छन्, ‘आफ्ना लागि पुग्ने कमाइ गरेर मात्रै राजनीतिमा लाग्नुपर्छ।’ त्यसको प्रतिउत्तरमा अर्का व्यक्तिले जवाफ दिन्छन्, ‘राजनीतिमा कमाइधमाइ भएका मात्रै लाग्ने हो भने त यो धनीहरूको क्लब भइहाल्छ नि।’ यो हिसाबमा हामीले ती तमाम युवालाई धन्यवाद दिनैपर्छ जो गाडी भाडा नभएर अभियानमा जान सक्दैनन् तर पनि देशमा परिवर्तन ल्याउने अभियानमा पैदलै हिंडेर पनि आफ्नो उपस्थिति जनाउँछन्।

२) आम दृष्टिकोण
केही समयअघि एउटा विद्यालयमा एकजना नवनिर्वाचित मेयरले भाषण गरे, ‘नगरपालिकाका तर्फबाट यस विद्यालयलाई सहयोग गर्छौं ताकि यहाँका विद्यार्थी ठूला डाक्टर, इन्जिनियर, कर्मचारी बनून्।’ एउटा नेताले विद्यार्थीलाई नेता बन भनेर भन्न सक्ने अवस्था किन छैन?

प्रत्यक्ष रूपमा पार्टी कार्यकर्ता र अभियन्ताको तहमा मात्रै होइन, मतदाता अनि आम नागरिकको हैसियतमा पनि आम युवा राजनीतिमा संलग्न हुन चाहँदैनन्। धेरै युवाले पनि
आफ्नो मतदाता पत्र बनाएकै हँुदैनन्। जब एकजना युवाले आफ्नो संलग्नताले राजनीतिमा फरक पर्छ भनेर महसुस गर्न सक्दैन भने ऊ किन संलग्न हुने? प्रश्न यहींनेर आउँछ। अर्को कुरा, के शेरबहादुर देउवा, केपी ओली अनि प्रचण्डलगायत नेताले आम युवालाई प्रतिनिधित्व गरिरहेका छन् त? छैनन् भने युवालाई राजनीतिमा लाग्ने प्रेरणा दिने त्यो ‘रोल मोडल’ खोइ त?

साथै, हालको राजनीति गुन्डागर्दी, झैझगडा, अपराधीकरण, भ्रष्टाचारतिर उन्मुख भएकाले पनि आम नागरिकको राजनीतिप्रति हेर्ने दृष्टिकोण त्यति राम्रो छैन।

 

३) पार्टीगत संरचना
युवाको राजनीतिमा सहभागिताको समस्या आउनमा हाम्रो पार्टी संरचना अनि राजनीतिक संस्कारमै समस्या छ। हामी यहाँ नेता जन्माउनेभन्दा पनि आफूले गरेको निर्णयमा सहमति जनाउने जमात बनाउन बढी रुचि राख्छौं। राजनीतिमा युवाक लागि पदमा पुगेर योगदान गर्ने संरचना नै हामीले विकास गर्न सकेका छैनौं। कि त शीर्ष नेतृत्वको सन्तान हुनुपर्ने कि त धेरै स्रोतसाधन चाहिने परिपाटीले पनि निष्ठावान् युवा राजनीतिमा आकर्षित छैनन्। साथै, युवा संगठन अनि विद्यार्थी संगठनका नाममा राजनीतिक दुरुपयोग गरेर युवाको जिन्दगी बर्बाद पार्ने परिपाटीले पनि राजनीतिक मोह घट्दै छ।

youtha

 

 

युवा, राजनीति अनि समाधान
हामी सहभागितामूलक लोकतन्त्रमा छौं तर नेपाली राजनीतिले युवालाई सहभागी गराउन सकिरहेको छैन। यसले लोकतन्त्रलाई नै कमजोर बनाउँदै छ। तसर्थ, अब युवालाई राजनीतिमा पर्याप्त भूमिका दिन सक्ने माहोल बनाउन जरुरी छ। ऊर्जाले साहस गर्छ, अनुभवीले सम्झौता। अब साहस गर्न सक्ने उत्कृष्ट व्यक्तिहरू राजनीतिक नेतृत्वमा किन नआउने?

युवालाई राजनीतिमा प्रवेशका लागि आकर्षण गर्न पार्टीले नै नीति अनि कार्यक्रम किन नबनाउने? सक्षम युवालाई राजनीतिक रूपमा विकास गर्न अनि आर्थिक रूपमा सहयोग गर्न अब पार्टी अनि राज्यकै तहबाटै पहल किन नगर्ने? अहिले युवाको दुरुपयोग गर्ने संस्कारभन्दा युवालाई सक्षम नेता बनाउने संरचना अब पार्टीभित्रै किन नबनाउने? संगठनले युवामा जति लगानी गर्छ, देशले त्यति नै लाभ पाउँछ।

दोस्रो कुरा, आज राजनीति अनि नेतृत्वप्रति जुन दृष्टिकोण छ त्यसलाई बदल्न एक सक्षम युवा पुस्ताले नेतृत्व लिन जरुरी छ जसले आउँदै गरेको युवालाई पनि राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस्। अब प्रत्येक पार्टीमा युवालाई अगाडि बढाउने संयन्त्र नै बन्नुपर्छ। युवालाई नतिजा निकाल्न अनि जवाफदेही हुन बढी कर लाग्छ किनकि उनीहरूलाई आफूलाई साबित गर्नुपर्ने चुनौती हुन्छ। शीर्ष नेतृत्वले युवामा आत्मविश्वास थप्दै नेतृत्वको अवसर प्रदान नगरेसम्म देशको भविष्य उज्ज्वल हुन सक्दैन। अब शीर्ष नेतृत्व अनि संगठनको मूल्यांकन नै उसले कति सक्षम नेतृत्व जन्माउन सक्छ भन्नेले मापन हुनुपर्छ।

युवाले पार्टी कार्यकर्ताका रूपमा मात्र नभएर स्वतन्त्र विचार विमर्श गर्ने समूहका रूपमा पनि सहभागी भएर राजनीतिलाई दिशानिर्देश गर्न सक्छन्। आफ्नो नेता अनि प्रतिनिधिलाई जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। राजनीतिक दलभित्रै पनि आफ्ना नेताहरूलाई दबाब दिन सक्छन्। अब पनि युवालाई अनुभवहीन भनेर पन्छाउने हो भने फेरि हाम्रो राजनीति अनि हामी अघि बढ्न सक्दैनौं। राजनीतिमा नयाँ अध्याय सुरुवात गर्ने हो भने सक्षम युवा आउनुको विकल्प छैन। अहिले पार्टीमा भएका युवा मुख्य नेतृत्वमा हस्तक्षेप गर्ने वा आफ्नो एजेन्डामा नेतृत्वलाई हिँडाउन सक्ने ल्याकत राख्दैनन्। अब सुसंस्कृत राजनीति अनि समृद्ध नेपालका निम्ति युवाको भूमिका सशक्त बनाउनुको विकल्प छैन।

मिलन पाण्डे -पाण्डे विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन्

Check Also

cricket tournament

युथ लेओपार्डसको सुपर सिक्सेज क्रिकेट टुर्नामेन्ट शुरु

राजविराज, ३ वैशाख । युथ लेओपार्डस सप्तरीका अध्यक्ष राहुल देवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *